विजेता पृथ्वीनारायण शाहले टुक्राटुक्री नेपाललाई उनेर एक गरेका थिए सबैले मानेका साहित्यकार हृदयचन्द्र सिंह प्रधानले पृथ्वीनारायण शाहले टुक्राटुक्री नेपाललाई उनेर एक गरेका थिए भनेका छन् । यसो भन्नुको अर्थ, नेपाल नै नेपालका राजा यक्षमल्लले सन् १४७४–७६ भन्दा पहिले उनको राज्य नेपाललाई काठमाडौं, पाटन, भादगाउँ र बनेपा समेत चार टुक्रामा बाँडेर अस्तित्व समाप्त पारेका थिए । पछि चार भञ्ज्याङभित्र जन्मिएका नयाँ राज्य काठमाडौं, पाटन, भादगाउँ र वनेपा समेतका राज्यहरूमा यक्षमल्लले विभक्त गरेको नेपालका टुक्राटुक्री भू–भागहरूलाई उनेर एक गरे ।
वास्तवमा नेपाल एकीकरण गरेको हो भनेर कुनै छलकपट नलिई सत्य कुरा लेख्नेमा सम्भवतः हृदयचन्द्र सिंह प्रधान नै सबैले मानेका पहिलो स्वदेशी साहित्यकार विद्वान् हुन् ।
यो देशका महापण्डितहरूले कबुजको अर्थ नेपाल एकीकरण नै हो भनेर यस्ता छली कुरा कति दिनसम्म गर्लान् कुन्नि ? गोर्खाली बडामहाराज पृथ्वीनारायण शाहले न नेपाल एकीकरण गरेका हुन् न यो देशको नाम नै नेपाल राखेका हुन् । बनेपा राज्यमा २१ वर्ष शासन गर्ने निःसन्तान राजा रणमल्लको मृत्यु पछि, बनेपा राज्य भादगाउँमा विलय भएको हो भने बनेपाका प्रथम र अन्तिम राजा रणमल्ल भनेका आफ्नै जीवनकालमा आफ्नो राज्य नै छोरा छोरीहरूलाई अंश दिएर नेपालको अस्तित्व समाप्त पार्ने राजा यक्ष मल्लका माहिला छोरा थिए ।
उनै साहित्यकार हृदयचन्द्र सिंह प्रधानको लेखाइको वास्तविक अर्थ नबुझी मनगढन्ते अर्थ लगाएर गोर्खा नरेश बडामहाराज पृथ्वीनारायण शाहले हालको नेपाल एकीकरण गरेका हुन् भन्नेहरूले तथ्य र प्रमाणका आधारमा मनन गर्नु पर्नेछ ।
वास्तविकता चाहिँ के हो भने गोर्खा राज्य विस्तारको अभियान सुरु गर्ने गोर्खा नरेश पृथ्वीनारायण शाहले गोर्खाभन्दा पश्चिमतर्फ होइन । केवल गोर्खा राज्यभन्दा पूर्वका नुवाकोट, काठमाडौं, पाटन, भादगाउँ, वल्लो किराँत, माँझ किराँत, मकवानपुर, विजयपुर, तथा पल्लो किराँतको कनका तिष्टा नदीसम्मका राजा रजौटा र उनीहरू अधिनस्थका जनपद राज्यहरू समेतलाई मात्रै गोर्खा राज्यमा विलय गराएका थिए । यो तथ्यलाई वास्ता नगरी ’लाटाका देशमा गाँडो तन्देरी’ बने जस्तै होहोरेमा बनेका विद्वानहरूले सम्बत १८१४ मा गोर्खा नरेश पृथ्वीनारायण शाहले गोर्खा राज्यको (राजधानी)’ मुकाम कान्तिपुरी भवन गोर्खाराज मर्त्यमण्डल’बाट लिम्बुवानका पारेखहाङ, चोत्साहाङ, थेगेकहिमहाङ समेतका थेगेम थरका लिम्बू र गैर–लिम्बूहरूलाई गरिदिएको ताम्रपत्रमा लेखिएको ‘गोर्खाराज’ भन्ने शब्दका साथै र अरू चिठी पत्र रुक्का आदि माथि अध्ययन चिन्तन र मनन गर्नेतिर यो देशका जानिफकार हौ भन्नेहरुको ध्यान पुग्न नसकेको किन ?
नेपाल राज्यका अन्तिम राजा यक्ष मल्लले सन् १४७४–७६ भन्दा पहिले राजनैतिक अस्तित्व समाप्त पारेको तत्कालिन नेपाललाई गोर्खा नरेश बडामहाराज पृथ्वीनारायण शाहले देशको नाम नेपाल राखेका थिएनन् । उनले गोर्खा नै राखेका थिए । यसका थुप्रै प्रमाण पाइन्छ । तत्कालीन पाटन राज्यका रैथाने विद्वान् सुन्दरानन्द बाँडाले सम्वत १८९० तिरको मानिएको आफ्नो “त्रि–रत्न सौन्दर्य गाथा” नामक पुस्तकमा उल्लेख गरेको नेपाल मण्डल नामलाई नेपाल राज्य वा देश हो भनेर नलेखी एस्ता श्री ५ पृथ्वीनारायण साहदेव जो छन्, प्रतापले उन्नत हुनाले, गोर्षाका रजाईंदेषिन् तृप्ति नहुँदा, नेपाल अंवल गरूं भन्या मन्सुवाले रूपैयाकन बटोल्दा भया भनेर किन लेख्ते होलान ?
अंवलशब्द पारसी÷ फारसी भाषाको शब्द हो र यसको अर्थ रजाईं वा शासन गर्ने हो भन्न नचाहने यो देशका महापण्डितहरूले नेपाल अंवल गरूं भन्या को अर्थ नेपाल एकीकरण नै हो भनेर जनमानसलाई हालसम्म पनि भ्रम छर्न पछि नपर्नु भनेको लाजमर्दो विषय होइन र ? सत्य कुरा भन्न र लेख्न के को लाज ? के को सरम ?
यसैगरी, उनी पछिका तत्कालीन काठमाडौं राज्यका रैथाने तथा मूलतः गोर्खा भाषाका प्रथम समालोचक मोतीराम भट्टले लेखेको वि.सं.१९४८ को भानुभक्तको जीवन चरित्र कान्तिपुर काष्टमण्डप, काठमाणौं,काठमांडु, भनी यौटै शहरको नाम जान्नु नेपालले चारभञ्ज्याङ भित्र जग्गा जान्नु भनेका छन् ।
उनले अनुमान सवासय वर्ष हुन लाग्यो जब गोर्खा सकारको प्रताप फैल्यो ।
यसैबखत् गोर्खा सर्कारले कोट काङ्गडादेखि पूर्व लगायतन् शिकिम् (जसलाई शौखिम पनि भन्दछज) सम्मका राज्य आफ्ना कबुजमा गर्दा दैवी इच्छाले तनहुँ राज्यको पनि स्वतन्त्रताको मिति सकियेको हुनाले यो राज्य पनि गोर्खा राज्यमा मिल्यो पछि पनि शूरवीर धीरवान अफिसरका बन्दोवस्तले राज्य स्थिति श्री ५ गोर्खा सरकार को यस कीर्ति सारा भारतवर्षमा प्रख्यात छ भनेर लेख्ने कुरै हुँदैनथ्यो । यो देशका महापण्डितहरूले कबुजको अर्थ नेपाल एकीकरण नै हो भनेर यस्ता छली कुरा कति दिन सम्म गर्लान् कुन्नि ? गोर्खाली बडा महाराज पृथ्वीनारायण शाहले न नेपाल एकीकरण गरेका हुन न यो देशको नाम नै नेपाल राखेका हुन् । यो गोर्खा राजा र प्रजाहरू मिलेर निर्माण गरेको गोर्खा देशको गोर्खा सरकार नाम बदलेर नेपाल सरकार नामलाई प्रचलनमा ल्याउने श्री ३ महाराज जुध्दशमशेर जबरा हुन् । उनले सम्वत १९८६ मा विदेशीहरूका उलामालामा लागेर गोर्खा राज्यलाई नयाँ नामकरण गरी नेपाल नाम तोकेको हो भन्नलाई प्रस्तुत दुईवटा हुलाक टिकटले प्रमाणित गरेका छन् । यहाँ विक्रम संवत १९६४ र १९८६ मा प्रकाशित हुलाक टिकटले पनि इतिहास कसरी बंग्याइयो भन्ने तथ्य पुष्टि गर्छ ।
ती दुईमध्ये गोर्खा सरकारको एउटा टिकट श्री ३ महाराज चन्द्र शमशेरका शासन काल विस १९६४ मा प्रचलनमा आएको देखिन्छ भने अर्को टिकट उनै श्री ३ महाराज जुध्द शमशेरको शासनकाल अर्थात् विस १९८६ मा नेपाल सरकार नामकरण गरेपछि प्रचलनमा आएको देखिन्छ । यी दुवै श्री ३ महाराजका शासनकालमा खोपीका देउता बनाएर राखेका नाम मात्रैका राजा श्री ५ त्रिभुवन यो देशको सिंहासनमा विराजमान भएको तथ्यलाई पर सार्दै यो देशका महापण्डितहरू ले जतिसुकै छली कुरा गरे पनि प्रमाणित सत्य र तथ्य यही मात्र हो । अनेक तथ्यले पुष्टि गर्ने एउटा सत्य चाहिँ के हो भने एकीकरण पछि पृथ्वीनारायणले नेपाल उपत्यकाको धार्मिक सांस्कृतिक आत्मासात गरी गोर्खा राज्यसँग एकाकार गरे जसको एउटा प्रमाण दसैंमा गोर्खादेखि जमरा फूलपाति ल्याउनु हो भने नेपाल उपत्यकाका अनेकन चाडपर्व राज्यले अंगीकार गर्नु हो । तर, गोर्खा नाम र गोर्खाली पहिचान यथावत राखेका थिए । स्मरण रहोस्, गोर्खा नरेश पृथ्वीनारायण शाहले गोर्खाराजमा विलय गराएका भूभाग भनेका गोर्खादेखि पूर्व कनका तिष्टा नदीसम्मका भूभागहरू तथ्य र ऐतिहासिक प्रमाणका आधारमा नेपाल थिएनन् । नेपालका नै थिए भने, चारभञ्ज्याङ भित्रको ‘नेपाल’ प्रवेश गर्ने चारभञ्ज्याङ बाहिरका मानिसहरू आ–आफ्नो हैसियत अनुसार सरकारी औपचारिकता पुरा गरेर चारभञ्ज्याङ भित्रको ‘नेपाल’ आउनु किन ? यसको मतलब चार भञ्ज्याङ बाहिर नेपाल नभएर गोर्खाराज नै थियो भन्ने प्रष्ट हुन आएन र ? काठमाडौं उपत्यकाका मुलत नेवार समुदायले बोल्ने नेवारी भाषालाई नेपाल भाषा र काठमाडौं उपत्यकाको प्राचीन सम्वत पनि नेपाल संवत हो । यसको प्रचलन उपत्यका बाहिर थिएन । यसैले नेवारी भाषातत्कालीन नेपालभित्र बोलिने भएकाले नेपाल भाषा भनिएको र यहाँ प्रचलित संवतलाई पनि नेपाल संवत भनिएको हो भन्ने प्रष्ट छ । गोर्खा राज्यले विजय प्राप्त गरेर गोर्खा राज्यको विस्तार गरेपछि राष्ट्र र भाषाको नाम कहाँबाट नेपाल भयो ? नेपालले त काठमाडौं खाल्डो मात्रै बुझाएको र बुझाउने तथ्यलाई नकार्ने किन ? त्यसरी ‘नेपाल’ आउने धेरै मानिसहरू अझ पनि जीवितै छन् । यो सत्य तथ्यलाई वास्ता नगरी हालको नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह नै हुन भनेर छली कुरा किन गर्ने ? अनेक तथ्यले पुष्टि गर्ने एउटा सत्य चाहिँ के हो भने एकीकरण पछि पृथ्वीनारायणले नेपाल उपत्यकाको धार्मिक सांस्कृतिक आत्मासात गरी गोर्खा राज्यसँग एकाकार गरे जसको एउटा प्रमाण दसैंमा गोर्खादेखि जमरा फूलपाति ल्याउनु हो भने नेपाल उपत्यकाका अनेकन चाडपर्व राज्यले अंगीकार गर्नु हो। तर, गोर्खा नाम र गोर्खाली पहिचान यथावत राखेका थिए । तर, यथार्थ यस्तो हुँदाहुँदै नचाहिँदा र नभएका कुरा लेख्ने र भन्नेहरूलाई के भन्ने? गोर्खा शब्दको तेजोबध गर्न चाहने विदेशीहरूका दासका पनि दास भन्ने कि, आफ्नो कान नछामी कागले कान लग्यो भनेर कागका पछि होहोरेमा दौडन बाध्य भएका अबुझ निरिह प्राणी नै हुन भन्ने ? अन्त्यमा, मेरो भनाई चाँहि के मात्रै हो भनेः गोर्खाको इतिहास मेट्तै नेपाल नाममा भुली, गोर्खा विस्तार हुँदै होइन, भन्ने हुन ढँटुवा छली । विदेशीले बिगारिदिएको गोर्खा हाम्रो परिचय, सपार्ने काम गर्दामा, मान घट्तैन निश्चय । जय गोरखनाथ, जय गोर्खा । लेखक कोइराला समाज र इतिहासमा कलम चलाउँछन् ।
थाहा खबरबाट साभार….









